निजगढ सिटीलाई पराजित गर्दै सिंगौल सेमिफाइनलमा प्रवेश (निजगढ मेयर कप)

बारा – तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सिंगौल फुटबल क्लव ए सेमिफाइनलमा प्रवेश गरेकोछ ।

सहिद रंगशालामा आज भएको पहिलो क्वार्टरफाईनलमा निजगढ सिटी क्लवलाई ३-२ को गोल अन्तरले पराजित गर्दै सिगौल सेमिफाईनलमा प्रवेश गरेकोहो ।

सिंगौलको खेलाडी रोशन थापाले खेलको ५ औ मिनेटमा र निजगढ सिटीका बुद्धिमान भुलोनले ४० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफको खेल बराबरीमा सकिएको खेलको ६५ औ मिनेटमा सिंगौलका सब्सिच्युट खेलाडी अर्बिन थापाले गोल गर्दै सिंगौललाई पुनः अग्रता दिलाए ।

सिंगौलले अग्रता बनाएको ३ मिनेट मै प्राप्त गरेको कर्नरमा सब्सीच्युट खेलाडी सन्दिप खुलालले हेड मार्फत गोल गर्दै सिंगौललाई ३–१ को अग्रता दिलाएका थिए ।

खेलको ७८ औ मिनेटमा सिंगौलको डी बक्स भित्र निजगढ सिटीका खेलाडीलाई फल गरेपछि निजगढ सिटीले प्राप्त गरेको पेनाल्टीमा बुद्धिमान भुलोनले निजगढ सिटीकालागि दोश्रो गोल गरेका थिए तर सिंगौलका खेलाडीहरूले दबाब बनाएपछि निजगढ सिटी खेलमा फर्कन सकेको थिएन ।

खेलको म्यान अफ द म्याच निजगढ सिटीका सिजल तिमल्सीना भएका थिए ।

प्रतियोगिता भोलि हुने दोश्रो क्वार्टरफाईनलमा रतनपुर युनाईटेड युथ क्लव र हिमाल युवा क्लव बीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।