स्थानीय तहको गाउँ र नगर सभा बन्द कोठामै सिमित

एमपी यादव
बारा-१०, असार ।
बाराको स्थानीय तहले गाउँ र नगर सभा बन्द कोठामै सिमित राखेका छन । १६ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहले बन्द कोठामै बसेर नीति तथा कार्यक्रम पारित गर्ने गरेका छन ।

गाउँ र नगर सभामा सिमित व्यक्तिको उपस्थितिमा बन्द कोठा भित्र गराई आर्थिक वर्ष २०७८/०७९ को बजेट निति तथा कार्यक्रम ल्याएका छन ।

स्थानीय तहका जनसमुदायलाई आ-आफ्नो गाउँ र नगरको निति तथा कार्यक्रम र बजेट विनियोजनको जानकारी पाउन नैसर्गिक अधिकार हो । तर अधिकांश स्थानीय तहका प्रमुखले बन्द कोठामा सिमित व्यक्तिको उपस्थित गराइ जनसमुदायको नैसर्गिक अधिकार कुण्ठित पार्ने कार्य गरेकोप्रति बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन ।

सभा सञ्चालन खर्च शिर्षकमा लाखौं बजेट विनियोजन गरेपनि गाउँ र नगर सभामा जनसमुदायको जनसहभागिता नै नगराई बन्द कोठामा सिमित व्यक्तिको उपस्थित गराई नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्ने गरेका छन ।

गाँउपालिका र नगरपालिकामा रहेको प्रमुखको कार्यकक्ष र बोर्ड बैठक बस्ने गरेको कोठामा गाउँ/नगर सभा सम्पन्न गरेको तस्वीरहरू सामाजिक सञ्जालमा प्रमुख, उपप्रमुख र सभामा उपस्थित भएकाहरूले पोष्ट समेत गरेका छन ।

बन्द कोठामा नीति तथा कार्यक्रम गरि सभा सञ्चालन खर्च शिर्षकको रकम दुरुपयोग कहि कतै भइरहेको त छैन भनेर बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन ।

बन्द कोठामा सभा सञ्चालन गरि लाखौ रूपैयाँको बिल पेस गरि सभा सञ्चालनमा खर्च भएको भन्दै जनताले तिरेको करमा अनियमितता गर्ने गरेको कार्यपालिका सदस्यहरूले नै गुनासो गरेका छन ।

गाउँ गाउँमा सिंह दरबारको काम काज हुने गरि तीन तहको सरकार आयो तर अधिकांश स्थानीय तहका प्रमुखहरूको रवाफले गर्दा जनसमुदायले त्यसको आभास गर्न सकेका छैनन् ।

बाराका केही स्थानीय तहका प्रमुखले निति तथा कार्यक्रम बजेट विनियोजनको कार्यक्रम रहेको भनेर उपस्थित हुनको लागि सुचना नै जारी गरि जनसमुदायको उपस्थितिमा गाउँ/नगरसभा गरेको प्रति त्यस क्षेत्रका जनसमुदाय र बुद्धिजीवीहरूले नैसर्गिक अधिकार सुरक्षित भएको महसुस गरेका छन ।

कोरोना महामारीको समयमा बढी उपस्थिति नगराउने भएपनि बन्द कोठामा गरिएको गाउँ/नगरसभामा न समाजिक दुरी कायम, न मास्कको प्रयोग गरिएको छ नत स्वास्थ्य मापदण्डको पालना नै ?
कोठामा सम्पन्न गरिएको गाउँ/नगर सभाको तस्वीरहरू प्रमुख/उपप्रमुख लगायत उपस्थित भएकाहरूले सामाजिक सञ्जालमा गरेको पोष्टबाट स्वास्थ्य मापदण्डको पालना नभएको प्रष्ट नै भएको छ ।