लागू औषध गाँजा सहित एक युवक पक्राउ

मंगल पाण्डेय
बारा-१३, असार ।
बारा प्रहरीले अवैध लागू औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।

पर्साको पकहा मैनपुर गाँउपालिका-१ निवासी ३६ वर्षीय राजमहम्मद मियाँ हजामलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा १५ किलो अवैध लागू औषध गाँजा सहित राजमहम्मदलाई ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

पथलैयाबाट वीरगन्ज तर्फ साईकलले जाँदै गरेको अवस्थामा शंका लागि जितपुर-पथलैया सडक खण्डको जितपुरसिमरा उपमहानगरपालिका-७ स्थित चेकजाँच गर्दा पिठयुमा बोकेको १ पोका र साईकलको कैरियरमा राखेको १ पोका गरि १५ किलो अवैध लागू औषध गाँजा बरामद गरिएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

लागू औषध गाँजा सहित पक्राउ परेका राजमहम्मदलाई नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।