निजगढ नगरपालिकाद्वारा नगरवासीलाई सहुलियत दरमा ईन्डक्सन चुल्हो प्रदान

बारा-१७, असार ।
निजगढ नगरपालिकाले सहुलियत दरमा नगरबासीहरुलाई ईन्डक्सन चुलो वितरण गरेको छ ।

पहिलो चरणमा नगरपालिकाले १ हजार थान नगरवासीलाइ वितरण गरेको हो । नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र निजगढ नगरपालिकाको लागत सहकार्यमा खरिद गरीएको ईन्डक्सन चुलो बुधबारबाट वितरण गर्न थालिएको हो ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाबीच गत आर्थिक वर्षमा ईन्डक्सन चुलो वितरण गर्ने सम्झौता भएको थियो । परम्परागत दाउरा चुलो र आयातीत उर्जाको श्रोत ग्यासको विकल्पको रुपमा नगरवासीहरुलाई ईन्डक्सन चुलो वितरण गर्ने अवधारणा ल्याएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

विधुतीय चुलोको प्रयोग मार्फत नागरिकको स्वास्थ्यमा सुधार हुने र जिवनस्तरमा समेत सुधार आउने आफुले विश्वाश लिएको र चुलो वितरण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने लक्ष्य रहेको मेयर खनालले बताउनुभयो ।

नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ६० प्रतिशत र निजगढ नगरपालिकाको ४० प्रतिशत लागतमा नगरपालिकाले ईन्डक्सन चुलो वितरण गरेकोहो ।

जडान सहित प्रति चुलो करिब ७ हजार रुपैंया लागत पर्न गएको निजगढ नगरपालिकाका सुचना अधिकृत रविन घिमीरेले बताउनुभयो । नगरपालिकाको प्रमुख शहरी क्षेत्र रहेको वडा नम्बर ७,८ र ९ मा प्रति वडा ३ सय र अन्य वडामा प्रति वडा १० वटाको दरले १ हजार थान चुलो वितरण गरेको सुचना अधिकारी घिमिरेले बताउनुभयो । नगरपालिकाले नगरबासीहरुसंग अतिरिक्त १ हजार रुपैंया रकम संकलन गरेकोथियो ।