मोटरसाइकलको तेल ट्यांकीमा ‘फल्स बटम’ बनाएर ९ किलो ५०० ग्राम चरेस तस्करी, भारतीय युवक पक्राउ

अमरज्योती
66 Views

आकाश प्रसाद साह ,वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा चरेससहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। भारततर्फ लैजान लागिएको अवस्थामा मोटरसाइकलको तेल ट्यांकीभित्र विशेष संरचना बनाएर लुकाइएको ९ किलो ५०० ग्राम चरेस बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको मोबाइल गस्ती टोलीले मंगलबार भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्दा लागूऔषध बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलको तेल ट्यांकीभित्र ‘फल्स बटम’ बनाएर लागूऔषध लुकाइएको अवस्थामा फेला परेको थियो। ट्यांकीबाट २१ वटा पोकामा राखिएको चरेस बरामद गरिएको हो। चरेससँगै मोटरसाइकल चालक भनिएका भारतीय युवक, एउटा मोबाइल फोन र लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार पक्राउ परेका युवकको नाम तत्काल सार्वजनिक गरिएको छैन। बरामद चरेस, मोटरसाइकल तथा पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि मंगलबार नै वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको छ। सीमा क्षेत्रमा लागूऔषध तस्करी रोक्न निगरानी बढाइरहेका बेला मोटरसाइकलको संरचना नै परिवर्तन गरी गरिएको यो तस्करी प्रयासले तस्करहरूले अपनाइरहेको नयाँ शैलीसमेत उजागर गरेको छ।

Share This Article