भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि वीरगञ्जका मेयर राजेशमान सिंह पुनः पदमा फर्किए

अमरज्योती
122 Views

आकाश प्रसाद साह ,वीरगञ्ज । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पुनः आफ्नो पदमा फर्किएका छन्।नागरिकतासम्बन्धी विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका सिंहलाई विशेष अदालतले सोमबार सफाइ दिएको थियो। अदालतको फैसलापछि निलम्बन फुकुवा भएपछि सिंह बुधबार महानगरपालिकाको कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन्।

महानगरपालिका कार्यालय पुगेका सिंहले आफ्नो कार्यकक्षमा धार्मिक विधिअनुसार पूजापाठ गरी पदभार ग्रहण गरेका थिए। उनलाई स्वागत गर्न महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समर्थकहरू कार्यालय परिसरमा उपस्थित भएका थिए।पदभार ग्रहण गरेपछि मेयर सिंहले महानगरपालिकाका नियमित कामकारबाहीबारे जानकारी लिँदै सेवा प्रवाहलाई निरन्तरता दिएका छन्।

अदालतबाट सफाइ पाएपछि लामो समयदेखि निलम्बनमा रहेका सिंहको महानगरपालिकाको नेतृत्वमा पुनरागमन भएको हो। अब उनले रोकिएका तथा प्रभावित महानगरका विकास निर्माण र प्रशासनिक कामलाई कसरी अघि बढाउँछन् भन्ने विषयमा चासो बढेको छ।

 

Share This Article