स्क्रायबलमा चम्किए बाराका विद्यार्थी, आठ जना राष्ट्रिय प्रतियोगिताका लागि छनोट

सिमरा । अंग्रेजी शब्दको ज्ञान, तीक्ष्ण स्मरणशक्ति र एकाग्रताको परीक्षा लिँदै सिमरामा सम्पन्न छैटौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिताले आठ जना विद्यार्थीलाई राष्ट्रियस्तरको प्रतियोगितासम्म पुग्ने अवसर दिएको छ।बाईटर एकेडेमी सिमराको आयोजना तथा स्क्रायबल क्लब बाराको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाका १४ विद्यालयका २८ विद्यार्थी सहभागी भएका थिए। सात चरणमा सञ्चालन भएको प्रतियोगितामा एक सामुदायिक विद्यालयका विद्यार्थीसमेत सहभागी थिए।प्रतियोगितामा एसपीईएस सिमराका प्रिन्स यादवले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। शुभारम्भ एकेडेमीका पर्वत केसी दोस्रो तथा सभ्य मण्डल तेस्रो भए।

जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गर्ने यी तीनसहित थप पाँच विद्यार्थी राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट हुने अन्य विद्यार्थीमा कौशल लामिछाने, न्युटन खनाल, वीरबहादुर सहनी, अर्जुन पोखरेल र एकलव्य झा रहेका छन्। अब यी आठ विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा बाराको प्रतिनिधित्व गर्नेछन्।प्रतियोगितामा विद्यार्थीहरूले केवल शब्द बनाउने प्रतिस्पर्धा गरेनन्, उनीहरूले आफ्नो ज्ञान, स्मरणशक्ति, एकाग्रता र तार्किक क्षमता समेत प्रदर्शन गरे। आयोजकका अनुसार स्क्रायबलजस्ता बौद्धिक खेलले विद्यार्थीको अंग्रेजी शब्दभण्डार विस्तार गर्नुका साथै सोच्ने र निर्णय गर्ने क्षमताको विकासमा समेत सहयोग पुर्‍याउँछ।प्रतियोगितामा सहभागी शिक्षकहरूले विद्यालयबीच हुने यस्ता गतिविधिले विद्यार्थीलाई प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै एकअर्काबाट सिक्ने र आफ्नो क्षमता पहिचान गर्ने अवसर समेत प्रदान गर्ने बताएका थिए।

प्रतियोगिताको समापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। बाईटर एकेडेमीका प्रबन्ध निर्देशक चन्द्र दास चौहानको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारीले अतिरिक्त तथा सह–शैक्षिक गतिविधिलाई शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने बताए।उनका अनुसार स्क्रायबलजस्ता बौद्धिक खेलले विद्यार्थीको शब्दभण्डार र भाषिक क्षमता बढाउनुका साथै एकाग्रता, स्मरणशक्ति र सिर्जनात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्। स्थानीय तहले पनि विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गर्दै शिक्षाको गुणस्तर सुधारका लागि यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आएको उनले बताए।

कार्यक्रममा बाईटर एकेडेमीका प्रधानाध्यापक राजु कार्कीले सहभागी विद्यालय, विद्यार्थी र शिक्षकप्रति आभार व्यक्त गर्दै पढाइसँगै बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीलाई जोड्न आवश्यक रहेको बताए।समापन कार्यक्रममा जीतपुरसिमरा–१६ का वडाध्यक्ष हरिदेव खरेल, बारा जिल्ला स्क्रायबल क्लबका बोर्ड सदस्य भोजराज सुवेदी, लोटस एकेडेमीका संस्थापक प्रिन्सिपल रामप्रसाद अधिकारी, एसपीईएसका प्रिन्सिपल बसन्त ढकाल तथा बारा जिल्ला स्क्रायबल क्लबका संयोजक सुवास श्रेष्ठलगायतको उपस्थिति थियो।कार्यक्रममा बोल्ने वक्ताहरूले स्क्रायबललाई केवल खेलका रूपमा नभई भाषा सिकाइ र विद्यार्थीको बौद्धिक क्षमता विकास गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। जिल्ला हुँदै प्रदेश र राष्ट्रियस्तरसम्म यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके बाराका विद्यार्थीभित्र रहेको प्रतिभालाई अझ ठूलो मञ्चमा प्रस्तुत गर्न सकिने उनीहरूको भनाइ थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *