छातापिप्रामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रामा सोमबार बिहान भएको सवारी दुर्घटनामा पिकअप चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको बोलेरो पिकअप आर्मी ब्यारेक अगाडि पुगेपछि अचानक अनियन्त्रित भएको थियो। त्यसपछि पिकअप सडकको डिभाइडरमा ठोक्किएर डिभाइडर पार गर्दै सडकको दाहिनेतर्फ पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका–३० प्रोसतीपुर निवासी वकिल मियाँ अन्सारीका २२ वर्षीय छोरा तथा पिकअप चालक जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान ८ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

अन्सारीको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्साको विश्रामपुर गाउँपालिका–९ निवासी सुभान अन्सारीका २० वर्षीय छोरा तथा पिकअपका सहचालक स्वयंभुला अन्सारी पनि घाइते भएका छन्। उनको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता घलेले बताए।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुर र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली जीतपुरबाट तथा प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा पाँच जनाको टोली सिमराबाट घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका कारण सडकमा आवागमन भने प्रभावित भएको छैन। दुर्घटनामा परेको पिकअपलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *