बारा, बाराको कोल्हबी नगरपालिका–२ बाँधटोलस्थित एक घरबाट प्रहरीले अवैध हतियारसहित वन्यजन्तुका अंग बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हबी र कोल्हबी सब–डिभिजन वन कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले स्थानीय राम विनोद दास तामाङको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरबाट लोडेड अवस्थामा रहेको भरुवा बन्दुक २ थान, हरिणको जस्तो देखिने छाला १ थान तथा धनेश चराको जस्तो देखिने चुच्चो १ थान फेला परेको प्रहरीले जनाएको छ।बरामद सामग्री नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोल्हबीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार अवैध हतियार तथा वन्यजन्तुसम्बन्धी कारोबार वा गतिविधिमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।


Leave a Reply