वीरगन्ज – प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिँदै परवानीपुरस्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोशी बाढीपीडितका लागि १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण ठूलो क्षति व्यहोरेका प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीबाट संकलित रकमसँगै महावीरप्रसाद–बृजलाल केडिया सेवा ट्रस्टले गरेको सहयोगलाई एकीकृत गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आफ्नो तर्फबाट रकम संकलन गरेका थिए। त्यसमा सेवा ट्रस्टले थप २ लाख रुपैयाँ सहयोग गरेपछि कुल १० लाख ९४ हजार १६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाइएको छ।
बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिले प्रभावित परिवारको जनजीवन अस्तव्यस्त भइरहेका बेला राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक पर्ने भएकाले अस्पताल परिवारले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।केडिया आँखा अस्पतालले भोटेकोशी बाढीपीडितका लागि यसअघि पनि सहयोग गरिसकेको थियो। अस्पतालले नेपाल नेत्रज्योति संघमार्फत प्रधानमन्त्री राहत कोषमा ७ लाख रुपैयाँ सहयोग गरेको थियो।यसपटकको १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोगसहित अस्पतालको तर्फबाट प्रधानमन्त्री राहत कोषमा गरिएको सहयोग रकम कुल १७ लाख ९४ हजार १६१ रुपैयाँ पुगेको छ।

Leave a Reply