बाढीपहिरो पीडितका लागि कांग्रेसले दियो एक करोड रुपैयाँ, राहत र उद्धार तीव्र बनाउन माग

काठमाडौँ । नेपाली कांग्रेसले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।चेक हस्तान्तरण कार्यक्रममा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण धेरै परिवार विस्थापित भएका छन् भने घर, सडक तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ।यस्तो विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीले सरकारलाई रकम उपलब्ध गराएको महामन्त्री पौडेलले बताए।

रकम हस्तान्तरण गर्दै पौडेलले संकटको घडीमा कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको बताए। उनले बाढीपहिरोका कारण विभिन्न स्थानमा, विशेषगरी सुरुङमार्गलगायत क्षेत्रमा फसेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए।त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन पौडेलले आग्रह गरेका छन्। साथै, राहत वितरण पारदर्शी बनाउन र आगामी दिनमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सरकारलाई उनले सुझाव दिएका छन्।बेपत्ताको खोजी, विस्थापितको दीर्घकालीन पुनर्स्थापना तथा राहत र उद्धारका काममा आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको पौडेलले प्रतिबद्धता व्यक्त गरे।

कांग्रेसले यसअघि पनि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचनालाई परिचालन गर्दै आएको जनाएको छ। सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव दिने, आवश्यक दबाब सिर्जना गर्ने तथा घटनाबारे ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ। सभापति थापा प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि दुईपटक घटनास्थल पुगिसकेका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *