कलैया । पर्साको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित ७० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–४ भथौराका ७० वर्षीय दुखि महतो रहेका छन्। उनको घरबाट प्रहरीले १७ किलो ७ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, महतोले घरमा गाँजा लुकाएर राखेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।खानतलासीका क्रममा प्लास्टिकसहित १८ किलो ४ सय ग्राम गाँजा फेला परेको थियो। प्लास्टिक हटाएर तौल गर्दा गाँजाको वास्तविक तौल १७ किलो ७ सय ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर प्रहरीले लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले गाँजा कहाँबाट ल्याइएको थियो र यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको बताइएको छ।

Leave a Reply