सिमराको होटलभित्र चक्कु प्रहार, ३५ वर्षीय युवकको हत्या

अमरज्योती
53 Views

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि एक युवकको हत्या भएको छ। शनिबार साँझ स्थानीय सम्झना स्टाफ होटलमा खाजा खाइरहेका करिब ३५ वर्षीय शेरबहादुर खड्कामाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेका हुन्।
मृतकको शव हाल बयोधा अस्पतालमै राखिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार खड्का होटलमा बसिरहेका बेला चार जना युवाहरू त्यहाँ पुगेका थिए। उनीहरू मदिरा सेवन गरेको अवस्थामा रहेको बताइएको छ। चार जनामध्ये कसले खड्कामाथि हतियार प्रहार गरेको भन्ने यकिन भइसकेको छैन। प्रहरीले घटनामा संलग्न व्यक्तिहरू स्थानीय नै हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
घटनापछि दुई जना युवक घटनास्थलबाट फरार भएका थिए भने अन्य दुई जना घाइते खड्कासँगै एम्बुलेन्समा अस्पताल पुगेका थिए। अस्पतालबाटै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनाको कारण तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ। फरार रहेका व्यक्तिको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ।

Share This Article