कलैया सिटी जेसिजद्वारा ट्राफिक सचेतना कार्यक्रम, सयभन्दा बढी सवारीमा रिफ्लेक्टिभ स्टिकर

अमरज्योती
81 Views

बारा । कलैया सिटी जेसिजले जेसिज सप्ताह–२०२६ अन्तर्गत पाँचौँ दिन मंगलबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ कलैयास्थित अस्थायी ट्राफिक प्रहरी पोस्टको चेकपोस्ट अगाडि आयोजित कार्यक्रममा एक सयभन्दा बढी मोटरसाइकल, अटो, भ्यानलगायतका सवारीसाधनमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ।कार्यक्रमका संयोजक तथा सन् २०२६ का उपाध्यक्ष राजेश पण्डितका अनुसार रातिको समयमा सवारीसाधनलाई टाढैबाट पहिचान गर्न सहज बनाउने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले स्टिकर टाँसिएको हो।

कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवले अटो चालकहरूलाई रुट परमिट, सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता किताब अनिवार्य रूपमा साथमा राख्न आग्रह गरे।

उनले मोटरसाइकललगायत दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा हेल्मेटको फिता अनिवार्य रूपमा बाँध्न, तीव्र गतिमा सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्नसमेत अनुरोध गरे।

विशेषगरी व्यस्त बजार क्षेत्रमा सवारी चाप बढ्दै गएको अवस्थामा चालक, यात्रु तथा पैदलयात्री सबैले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने सहभागीहरूले बताएका छन्।

कार्यक्रममा कलैया सिटी जेसिजका सन् २०२५ का निवर्तमान अध्यक्ष ओमप्रकाश सर्राफ, सन् २०२६ का महासचिव संजय कुशवाहा महतो, सतेन्द्र गुप्ता, धर्मेन्द्र प्रसाद यादव, आकाश साहलगायत जेसिजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।यसैबीच, जेसिज सप्ताह–२०२६ अन्तर्गत छैटौँ दिन बुधबार कलैया उपमहानगरपालिका–७ बरेवास्थित दुर्गा माध्यमिक विद्यालयमा मोटिभेसनल ट्रेनिङ आयोजना गरिने अध्यक्ष सन्दीप कुमार साहले जानकारी दिएका छन्।

Share This Article