कांग्रेस महाधिवेशनका लागि बारा–१ बाट शिव लम्साल सर्वसम्मत महाधिवेशन प्रतिनिधि

अमरज्योती
68 Views

बारा । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ।

लम्साल खुलातर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो। उहाँ सर्वसम्मत चयन भएसँगै कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा बारा–१ बाट प्रतिनिधित्व गर्ने निश्चित भएको छ।लम्साल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले वि.सं. २०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बारा क्षेत्र नम्बर १ को अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा अघि बढाउनुभएको थियो।

त्यसक्रममा उहाँले बारा, स्याङ्जा तथा मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ इकाइमा रहेर संगठन विस्तार र विद्यार्थी आन्दोलनमा भूमिका निर्वाह गर्नुभएको जनाइएको छ।पत्रकारिता क्षेत्रमा समेत लामो अनुभव हासिल गर्नुभएका लम्सालले नेपाल प्रेस युनियन काठमाडौं शाखाको सभापतिदेखि केन्द्रीय सचिव, महासचिव तथा सल्लाहकारको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ हाल नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ।

गृहजिल्ला बाराको क्षेत्र नम्बर १ बाट खुलातर्फ सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएपछि लम्सालको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागिता सुनिश्चित भएको हो।

Share This Article