पचरौतामा १५१ किलो गाँजा बरामद, प्रहरी देखेपछि तस्करहरू खेतमै पोका फालेर फरार

बारा । रातको समयमा धान खेतको साँघुरो आलीबाट शंकास्पद समूह अघि बढिरहेको थियो। उनीहरूको पिठ्युँमा झोलाजस्तै देखिने भारी बोकेका थिए। तर, प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पछ्याउन थालेपछि दृश्य एकाएक बदलियो। आफूले बोकेको सामान खेतमै फालेर उनीहरू अँध्यारोको फाइदा उठाउँदै फरार भए। बाराको पचरौता नगरपालिका–७ मा शनिबार राति प्रहरीले १५१ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको हो।

प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक राजेश सिंह र सशस्त्र प्रहरी बल नेपाल बीओपी बेनौलीका सशस्त्र प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा खटिएको संयुक्त एम्बुस टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेततर्फको बाटोमा ८ देखि ९ जनाको समूहमा अपरिचित व्यक्तिहरू आउँदै गरेको देखिएको थियो। उनीहरूले पिठ्युँमा झोलाजस्तो बनाएर केही भारी बोकेको देखिएपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

तर प्रहरीलाई देख्नेबित्तिकै उनीहरू भाग्न थाले। प्रहरीले पछ्याएपछि समूहले आफूले बोकेका गाँजाका पोका धान खेतमै फालेर फरार भएको प्रहरीले जनाएको छ।घटनास्थलमा खोजी गर्दा प्रहरीले ९ वटा जुटका बोरामा प्याक गरिएको गाँजा फेला पारेको थियो। तौल गर्दा प्रतिपोका करिब १६.७७ किलोका दरले कुल १५१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए।बरामद गाँजा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ।प्रहरीले गाँजा खेतमै छाडेर भागेका व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी राखेको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *