इन्द्रसरोवर इभी दुर्घटना : बारा–पर्साका दुईसहित चार जनाको मृत्यु, चार घाइते

अमरज्योती
66 Views

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुलेको छ।मंगलबार दिउँसो काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी सडकबाट करिब एक हजार मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा बारा परवानीपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँ, पर्सा छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई र नवलपरासी पूर्वका २४ वर्षीय नरबहादुर सिंह ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार मृतकको साथमा भेटिएका नागरिकता, पासपोर्ट तथा राष्ट्रिय परिचयपत्रका आधारमा उनीहरूको पहिचान खुलेको हो।
दुर्घटनामा गाडी चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा बारा कलैया उपमहानगरपालिका–२४ का २० वर्षीय चालक अमिर अन्सारी, बारा महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबियाकुमारी यादव तथा मकवानपुरका राजकुमार स्याङ्तान र कल्पना तामाङ रहेका छन्।घाइतेमध्ये चालक अन्सारीसहित कल्पना तामाङ र राजकुमार स्याङ्तानको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बबियाकुमारी यादवको हेटौंडा अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

Share This Article