सिमरामा एलपी ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

अमरज्योती
45 Views

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिकै एलपी ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार राति करिब ८ः३० बजे वीरगन्ज–पथलैया सडकखण्डमा रहेको एरोटेक ग्यास कम्पनीबाट पूर्वतर्फको सर्भिस लेन हुँदै एक्सप्रेस–वेमा प्रवेश गरिरहेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार पर्सा वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रविन्द्र उपाध्याय र बारा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो।
उपचारका क्रममा दुवैलाई चिकित्सकले राति ९ः१० बजे मृत घोषणा गरेका हुन्। मृतक दुवैको शव नारायणी अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक को थिए भन्ने हालसम्म खुलेको छैन।
दुर्घटनापछि ट्रक र चालक चितवन भरतपुर महानगरपालिका–७ निवासी करिब ५८ वर्षीय सुनिल राज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकलाई प्रहरी चौकी परवानीपुरमा राखिएकोमा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरातर्फ ल्याउने प्रक्रिया अघि बढाइएको छ। मोटरसाइकल भने इलाका प्रहरी कार्यालय जीतपुरको नियन्त्रणमा रहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा SOCO सहितको टोली खटिएर आवश्यक अनुसन्धान तथा घटनास्थल मुचुल्काको काम गरेको प्रहरीले जनाएको छ।

Share This Article