बिश्रामपुर कांग्रेस सभापतिमा रामानन्द पाल सर्वसम्मत, क्षेत्रीय सभापतिमा लोकेश सिंहलाई बनाउन आग्रह

अमरज्योती
179 Views

बारा,।  नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत बाराको बिश्रामपुर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सूरले गरेका हुन्।बिश्रामपुर पानीटंकी नजिक आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा आएका प्रतिनिधिहरूको सहभागिता थियो। अधिवेशनले वर्तमान गाउँपालिका सभापति रामानन्द पाललाई पुनः सभापतिमा सर्वसम्मत चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि फरमुल्लाह मन्सूरले नेपाली कांग्रेसलाई देशको सबैभन्दा पुरानो राजनीतिक पार्टीका रूपमा जनताले रुचाउँदै आएको दाबी गर्दै गगन थापाको नेतृत्वमा पार्टीले देशलाई आवश्यक निकास दिने बताए। उनले पालिकादेखि देशका विभिन्न तहमा सर्वसम्मत नेतृत्व चयन भइरहेको उल्लेख गर्दै यसले कांग्रेसका नेता–कार्यकर्तामा उत्साह बढाएको बताए।मन्सूरले खुला रूपमा अनलाइनमार्फत सक्रिय सदस्यता लिएर कांग्रेसमा जोडिएका नयाँ सदस्यका कारण पार्टीमा थप उत्साह पैदा भएको बताए। बिश्रामपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएकोमा शुभकामना दिँदै उनले आगामी दिनमा गाउँपालिकाका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा उपस्थित क्षेत्रीय प्रतिनिधिहरूले आगामी दिनमा बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंहलाई बनाउन आग्रह गरेका छन्। स्वागत मन्तव्य राख्दै कांग्रेस बुथ सभापति शिवचन्द्र प्रसाद यादवले सिंहले नेता तथा कार्यकर्ताका हरेक काममा निरन्तर सहयोग गर्दै आएकाले उनलाई क्षेत्र नम्बर ४ को सभापतिको रूपमा हेर्न आफूहरू इच्छुक रहेको बताए।गाउँपालिका पार्टी सभापति रामानन्द पालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला उपसभापति अमिरी पाल, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४(ख) का सभापति लुकेश सिंह, पूर्व जिल्ला उपसभापति सुरेन्द्र साह, पूर्व जिल्ला सचिव तेजनारायण साह, जिल्ला सदस्य जमुनी देवी पासवानलगायतको उपस्थिति थियो।

त्यस्तै बिश्रामपुर गाउँपालिका वडा नम्बर १ देखि ५ का वडा सभापति क्रमशः सतेन्द्र पटेल, प्रमा साह तेली, शिवचन्द्र प्रसाद यादव, सञ्जय साह र राजेश प्रसाद भेडिहर तथा विभिन्न वडाबाट आएका क्षेत्रीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

 

Share This Article