बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेतृ मेघा शाहीले केन्द्रीय सदस्य (महिला, मधेस प्रदेश) पदमा उम्मेदवारी घोषणा गरेकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाहीले पार्टीको संगठन सुदृढीकरण, युवा पुस्ताको अर्थपूर्ण सहभागिता र महिलाको नेतृत्व स्थापित गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेकी हुन्।शाहीले ठाकुराम क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्। विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनी नेविसंघको जिल्ला कार्यसमितिमा पुगेकी थिइन्। त्यसपछि नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हाल्दै कांग्रेसको मूलधारको राजनीतिमा सक्रिय रहँदै आएकी छन्।
विद्यार्थी राजनीतिबाट पार्टीको मूल राजनीतिमा प्रवेश गरेकी शाहीले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी समेत दिएकी थिइन्। स्थानीय तहको निर्वाचनमार्फत जनतासँग प्रत्यक्ष जोडिँदै आएकी उनी त्यसपछि पनि पार्टी संगठन र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी छन्।शाहीको राजनीतिक यात्रामा विद्यार्थी संगठनदेखि पार्टीको जिल्ला तह हुँदै केन्द्रीय राजनीतितर्फको यात्रा देखिन्छ। लामो समयदेखि कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक मूल्य–मान्यता र जनतासँगको सम्बन्धलाई आधार बनाएर राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ।
राजनीतिसँगै शाहीको शैक्षिक पृष्ठभूमि पनि फराकिलो छ। उनले शिक्षामा मास्टर्स, एलएलबी, पोलिटिकल साइन्स तथा एमफिलसम्मको अध्ययन पूरा गरेकी छन्। हाल उनी पीएचडीको तयारीमा रहेको बताइएको छ। शिक्षा र राजनीतिक अनुभवलाई सँगसँगै अघि बढाउँदै पार्टी तथा समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने उनको लक्ष्य रहेको छ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै शाहीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षामा मात्र सीमित नगरेकी छन्। उनले यसलाई पार्टी संगठनलाई थप बलियो बनाउने, नयाँ पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा जोड्ने र महिलाको नेतृत्वलाई पार्टीको निर्णायक तहमा स्थापित गर्ने अभियानका रूपमा प्रस्तुत गरेकी छन्।

“मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन,” शाहीले भनेकी छन्, “संगठन सुदृढीकरण, युवा पुस्ताको अर्थपूर्ण सहभागिता, महिलाको नेतृत्व र नयाँ पुस्ताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म मजबुत रूपमा स्थापित गर्ने संकल्प हो।”वर्षौंदेखि पार्टी संगठन र लोकतान्त्रिक मूल्य–मान्यतासँग जोडिएर अघि बढेको आफ्नो राजनीतिक यात्रालाई अब अझ फराकिलो जिम्मेवारीमा रूपान्तरण गर्ने उद्देश्य रहेको शाहीको भनाइ छ।उनले नेपाली कांग्रेसलाई अझ संगठित, समावेशी, ऊर्जाशील र जनमुखी बनाउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन्। पार्टीभित्र युवा पुस्ताको सहभागिता बढाउनुपर्ने, महिलालाई नेतृत्वको थप अवसर दिनुपर्ने तथा नयाँ पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियासम्म पुर्याउनुपर्ने उनको धारणा छ।
शाहीले कांग्रेसभित्र एकता, सहकार्य र पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई जोडेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।उनले महाधिवेशन प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा कांग्रेसजनसँग आफ्नो उम्मेदवारीका लागि साथ, विश्वास र अमूल्य मतको अपेक्षा गरेकी छन्।
मेघा शाहीको उम्मेदवारीबारे नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ का सभापति लोकेश सिंहले जानकारी गराउनुभएको हो।
