तीन पटक गोली खाएर पनि राजनीतिमा सक्रिय, बारा–४ मा लोकेश सिंहको क्षेत्रीय सभापतिमा उम्मेदवारी

अमरज्योती
218 Views

बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ मा क्षेत्रीय सभापति पदका लागि लोकेश सिंहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। लामो समयदेखि पार्टी संगठन विस्तार तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका सिंहले क्षेत्रीय नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।सिंहले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई पार्टीको मूल आदर्शका रूपमा अघि सार्दै ‘सबल नेपाली कांग्रेस, समृद्ध नेपाल’ निर्माण गर्ने संकल्पसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

आफ्नो राजनीतिक यात्राका क्रममा पार्टी विस्तार तथा संगठन निर्माणका क्रममा आफूले विभिन्न चुनौती र कठिनाइ सामना गरेको सिंहको भनाइ छ। पार्टी विस्तारकै क्रममा आफूलाई तीन पटक गोली प्रहार भएको र तीनवटै गोली लागेपछि पनि बाँचेको उनले बताएका छन्। त्यस्ता संघर्षका बाबजुद आफू निरन्तर राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको उनको भनाइ छ।सिंहले आफूलाई युवा पुस्ताले रुचाएको नेताका रूपमा प्रस्तुत गर्दै नयाँ पुस्ताको सहभागिता र ऊर्जालाई पार्टी संगठनमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार पार्टीलाई थप सक्रिय, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण हुनेछ।

उनले आफ्नो चुनावी प्रतिबद्धतामा ‘समृद्ध स्थानीय तह, सबल समाज र समृद्ध देश’ निर्माणका लागि काम गर्ने बताएका छन्। स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टी संगठनलाई मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने कांग्रेस निर्माण आफ्नो प्राथमिकता रहेको सिंहको भनाइ छ। ‘जनताको सेवा, हाम्रो प्रतिबद्धता’ भन्ने भावनाका साथ क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएको बताउँदै सिंहले पार्टीका नेता तथा कार्यकर्ताबाट पूर्ण साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।बारा क्षेत्र नं. ४ मा सिंहको उम्मेदवारीसँगै कांग्रेसको क्षेत्रीय नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि थप केन्द्रित भएको छ। आगामी अधिवेशनमा क्षेत्रीय नेतृत्वका लागि हुने निर्वाचनले यस क्षेत्रमा कांग्रेसको संगठनात्मक नेतृत्वको दिशा तय गर्नेछ।

Share This Article