महागढीमाईमा अवैध घरेलु मदिरा भट्टीमा प्रहरीको छापा, १० हजार लिटर कच्चा पदार्थ नष्ट

अमरज्योती
4 Views

बारा । बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेको छ। प्रहरीले शुक्रबार बिहान गरेको संयुक्त कारबाहीका क्रममा करिब १० हजार लिटर कच्चा पदार्थ नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार महागढीमाई नगरपालिका–३ स्थित ग्वास टोल र वडा नम्बर १० को गञ्जभवानीपुर गाउँमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचना पाएपछि टोली परिचालन गरिएको थियो। सूचनाको आधारमा पुगेको प्रहरीले विभिन्न स्थानमा सञ्चालन भइरहेका भट्टीमा छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार छापा मार्ने क्रममा घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिएको भट्टी र त्यहाँ भण्डारण गरिएको ठूलो परिमाणको कच्चा पदार्थ फेला परेको थियो।

प्रहरीले तत्कालै सोही स्थानमा करिब १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको जनाएको छ। साथै घरेलु मदिरा उत्पादनमा प्रयोग गरिएका सानो आकारका ११ वटा प्लास्टिकका ड्रम र एउटा टिनको ड्रम समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको प्रवक्ता घलेले जानकारी दिए।

प्रहरीका अनुसार महागढीमाई नगरपालिका–३ का सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राजकुमार राम र अस्पताली राम तथा वडा नम्बर १० का भोला राम, प्रभु राम र रामानन्द जैसवालले सञ्चालन गरेका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा कारबाही गरिएको हो।

अवैध रूपमा घरेलु मदिरा उत्पादन र बिक्रीवितरण हुँदा स्थानीयस्तरमा त्यसले पार्न सक्ने असरलाई ध्यानमा राख्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। प्रवक्ता घलेले जिल्लाका विभिन्न क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण भइरहेको पाइएमा सूचना संकलन गरी आवश्यक कानुनी कारबाहीलाई निरन्तरता दिइने बताए।

उनका अनुसार शुक्रबारको कारबाहीमा प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुरप्रसाद यादवको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब निरीक्षक नवलकिशोर साहको कमाण्डमा १३ जना गरी संयुक्त रूपमा १६ जना प्रहरी परिचालन भएका थिए।

स्थानीय क्षेत्रमा लुकीछिपी सञ्चालन भइरहेका यस्ता घरेलु मदिरा उत्पादन केन्द्रमाथि प्रहरीले पछिल्लो समय निगरानी बढाउँदै आएको छ। शुक्रबारको कारबाहीलाई पनि त्यही अभियानअन्तर्गतको कदमका रूपमा प्रहरीले जनाएको छ।

 

Share This Article