जीतपुरसिमराको तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

अमरज्योती
4 Views

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–१ निवासी मेखबहादुर मगरका अन्दाजी ३५ वर्षीय छोरा योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते मगरलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएकोमा राति ११ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ट्रक चालक जीतपुरसिमरा उपमहानगरपालिका–२१ निवासी ३३ वर्षीय राजन खड्का रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Share This Article