मोटर जडान धाराबाट पानी खाने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

अमरज्योती
63 Views

बारा । बाराको पचरौता नगरपालिका–८ बाजोपटीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–८ बेतौनाका हकबुला देवानका करिब २५ वर्षीय छोरा राजु देवान रहेका छन्।प्रहरीका अनुसार २०८३ साल असोज १० गते साँझ करिब ६ बजे पचरौता नगरपालिका–८ बाजोपटीमा साथी दुर्गा प्रसाद यादवको घरमा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा देवानलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई दुर्गा प्रसाद यादवका भाइ बालेश्वर यादवले एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए।अस्पतालमा चिकित्सकले ECG लगायत आवश्यक परीक्षण गर्दा साँझ करिब ६ः४५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे साँझ करिब ७ः२० बजे अस्पतालमा खटिएका प्रहरीमार्फत जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सबिन कुमार कार्कीको कमाण्डमा तथा अस्थायी प्रहरी पोस्ट लंगडा चौकबाट प्रहरी सहायक निरीक्षक थिरबहादुर बस्नेतको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट लंगडा चौकबाट करिब ३ किलोमिटर पश्चिमतर्फ रहेको बताइएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएको थियो। प्रहरीका अनुसार असोज ११ गते दिउँसो करिब १ः३० बजे पोस्टमार्टमपछि मृतकका दाइ इजहारुल देवानले शव बुझेर लगेका छन्।घटना विद्युत् करेन्ट लागेकै कारण भएको प्रारम्भिक विवरण रहे पनि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Share This Article