बारा । परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। स्थानीयस्तरमै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको बर्थिङ सेन्टरको गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन्।बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै परवानीपुर गाउँपालिका–२ तथा आसपासका क्षेत्रका गर्भवती महिलाले प्रसूतिका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। अब स्थानीय महिलाले रामपुर स्वास्थ्य चौकीमै आवश्यक स्वास्थ्य निगरानी तथा सुरक्षित प्रसूति सेवा लिन सक्ने भएका छन्।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा नं. २ का वडाध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा तथा गाउँपालिकाका कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो।गाउँपालिकाका अनुसार बर्थिङ सेन्टरबाट सुत्केरी सेवा निःशुल्क उपलब्ध गराइनेछ। सुत्केरी आमालाई यातायात खर्चबापत १ हजार रुपैयाँ समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।त्यस्तै, तोकिएको स्वास्थ्य प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा चार पटक गर्भजाँच गराई सोही बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई थप ८ सय रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
सुत्केरी आमालाई स्वास्थ्य संस्थासम्म ल्याउन तथा प्रसूति सेवापछि घरसम्म पुर्याउन एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ। यसले आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य चौकीसम्म पुग्न कठिनाइ हुने गर्भवती महिलालाई थप राहत पुग्ने गाउँपालिकाको विश्वास छ।बर्थिङ सेन्टरमा सुत्केरी हुने प्रत्येक आमालाई आमा र नवजात शिशुका लागि आवश्यक कपडा लगायतका सामग्री समेटिएको एक थान न्यानो झोला समेत निःशुल्क वितरण गरिनेछ।
बर्थिङ सेन्टर सञ्चालनले स्थानीय महिलालाई समयमै र सहज रूपमा प्रसूति सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ। गाउँपालिका अध्यक्ष कुर्मीले स्थानीय तहबाटै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यअनुसार बर्थिङ सेन्टर सञ्चालन गरिएको र यसबाट वडा नं. २ सहित आसपासका गर्भवती महिलाले प्रत्यक्ष लाभ लिन सक्ने बताए।
