बारा ,२६ साउन: सुनसरी र सिराहा घटनाका पीडितलाई न्यायका साथै हिन्दू धर्म-संस्कृतिको संरक्षणको माग राख्दै निरन्तर अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले आफ्नो आमरण अनशन स्थगित गरेका छन। काठमाडौँको माइतीघर मण्डलामा साउन १४ गतेदेखि १३ दिनसम्म चलेको उनको आमरण अनशन सरकारसँग चारबुँदे लिखित सहमति भएपछि स्थगित भएको हो। अध्यक्ष यादवले एक कुमारी कन्याको हातबाट जुस पिएर अनशन स्थगित गरेका छन।
हिन्दू धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि राज्यले आफ्ना प्रतिबद्धताहरू चाँडोभन्दा चाँडो पूरा नगरे सडकदेखि सदनसम्म पुनः सशक्त आन्दोलनमा उत्रिने दलको संकल्प छ।
सहिद घोषणा र सहमतिलाई आन्दोलनको पहिलो सफलताका रूपमा लिँदै दलले सरकारलाई सम्झौता पालना गर्न सचेत गराएको छ। जनताको बलिदानमाथि राजनीति नभई पूर्ण न्याय र जवाफदेहिता चाहिने भन्दै राष्ट्रिय एकता दलले चेतावनी दिएको छ।
संघर्षको जीत र सहिद घोषणा
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटना र सिराहा घटनामा ज्यान गुमाएका ४ जना हिन्दू युवालाई नेपाल सरकारले सहिद घोषणा गरेको छ। राष्ट्रिय एकता दलका अनुसार यो निर्णय हिन्दू योद्धा विनय यादवको दृढ अडान, निरन्तर संघर्ष र सडक आन्दोलनको बलमा सम्भव भएको हो।
IMG-20260811-WA0035
दलका केन्द्रीय सदस्य मानिस पुर्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ:
“अध्यक्ष श्री यादवज्यूले राख्नुभएका मागहरूका सन्दर्भमा सरकारले चारबुँदे लिखित सहमति गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थितिमा तत्कालका लागि आमरण अनशन स्थगित गरिएको छ।”
सरकारसँग भएका मुख्य सहमति र मागहरू:
सहिद घोषणा: घटनामा ज्यान गुमाएका चारै जना युवाहरूलाई आधिकारिक सहिद घोषणा।
राहत र रोजगारी: पीडित परिवारलाई उचित क्षतिपूर्ति, दीर्घकालीन न्याय र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था।
नीतिगत र सुरक्षा व्यवस्था: हिन्दू समाजको सुरक्षा, दीर्घकालीन नीतिगत स्पष्टता र शान्ति-सुरक्षाको सुनिश्चितता।
