कलैया । बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR05AV 6136 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा मधेश प्रदेशको मोटरसाइकल चालक करैयामाई गाउँपालिका–७ निवासी ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
सोही मोटरसाइकलमा पछाडि सवार करैयामाई–७ कै १६ वर्षीय अन्जित चौधरी मध्यम घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।यस्तै, भारतीय नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोड निवासी ३५ वर्षीय साहेब देवान पनि घाइते भएका थिए। उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर पुर्याइएका उनलाई चिकित्सकले राति १०ः४० बजे मृत घोषणा गरेका थिए। मृतकको पहिचान उनका ससुरा अमजद हुसेन देवानले गराएका हुन्।
दुर्घटनापछि अप्रपोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।घटनाको अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा SOCO सहितको टोलीसमेत घटनास्थलमा खटिएको थियो।प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी भदौ २८ गते शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। पोस्टमार्टमपछि सोही दिन दिउँसो १ः०५ बजे मृतकका मामा नुरुल होदा देवानले शव बुझेर लगेका छन्।
कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
