आकाश प्रसाद साह,कलैया। बाराको कलैया उपमहानगरपालिका–११ मा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बुधबार राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय हनुमान प्रसाद साहको घरमा ठूलो क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ बजेको समयमा साहको घरमा विद्युत् सर्ट भएर आगलागी भएको थियो। रातिको समयमा आगलागी भएकाले परिवारका सदस्यहरू तथा स्थानीयवासीले तत्कालै आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए।आगलागीका क्रममा घरमा रहेका एउटा बाछो, एउटा भैँसीको पाडो र दुईवटा बाख्रा जलेर मरेका छन्। आगलागीका कारण घर तथा घरभित्र रहेका अन्य सामग्रीमा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाबाट करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि क्षतिको विस्तृत विवरण संकलन गर्ने तथा घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
रातको समयमा भएको आगलागीका कारण केही समय स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो। आगलागी नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट रोकिएको बताइएको छ।
