रामेछापका प्रहरी नायब उपरीक्षक जैसवाल ‘महिनाको उत्कृष्ट प्रदेश प्रहरी’ घोषित

अमरज्योती
85 Views

आकाश प्रसाद साह,परवानीपुर । । जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवाललाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषणा गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रशंसापत्रअनुसार जैसवालले संगठनको नीति–निर्देशनअनुसार प्रदान गरिएको व्यावसायिक जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।
प्रशंसापत्रमा उल्लेख भएअनुसार उनले जघन्य प्रकृतिका कर्तव्य अपराध, चोरी तथा लुटपाटलगायत घटनामा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिई सफल अनुसन्धान गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
यस्तै, २०८३ भदौ २४ गते सुनसरीको हरिनगरबाट फरार रहेका जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गर्न सफल भएको उल्लेख छ। रामेछाप जिल्लाका ४ जना तथा दोलखा जिल्लाका २ जना गरी ६ जना व्यक्तिलाई लागुऔषध सेवन गराई बेहोस बनाई सुनको सक्कली गहना चोरी गरी नक्कली सुन लगाइदिई फरार रहेका व्यक्तिहरू तथा चोरीको गहना खरिद गर्ने सुनचाँदी व्यवसायीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रशंसापत्रमा जनाइएको छ।
त्यसैगरी, फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गर्ने कार्यमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अपराध रोकथाम तथा नियन्त्रणका लागि आत्महत्या रोकथाम तथा नियन्त्रण, जबरजस्ती करणी, घरेलु हिंसा, चोरी, महिला हिंसा, मानव बेचबिखन, लागुऔषध दुर्व्यसनी न्यूनीकरण, लैंगिक हिंसा, बैंकिङ कसुर तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत उनको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ।
उनको कार्यसम्पादनबाट जिल्लाको शान्ति–सुरक्षा व्यवस्थालाई सबल बनाउन योगदान पुगेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले ‘महिनाको उत्कृष्ट प्रदेश प्रहरी’का रूपमा छनोट गरेको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले हस्ताक्षर गरेको प्रशंसापत्रमा जैसवाललाई उत्कृष्ट प्रदेश प्रहरी घोषित गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

Share This Article