मधेश प्रदेशबाटै स्मार्ट लाइसेन्स वितरण सुरु, पहिलो चरणमा ३ हजार ८१ कार्ड हस्तान्तरण

अमरज्योती
60 Views

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशमै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ तथा वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। श्रम तथा यातायात मन्त्रालयले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयका प्रमुखहरूलाई स्मार्ट कार्ड हस्तान्तरण गरेसँगै वितरण प्रक्रिया सुरु भएको हो।

श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पहिलो चरणमा छपाइ सम्पन्न भएका ३ हजार ८१ वटा स्मार्ट लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालय प्रमुखलाई हस्तान्तरण गरेकी छन्।

पहिलो चरणमा राजविराजका लागि ५२, सिरहाका लागि ४६०, महोत्तरीका लागि ३०३, धनुषाका लागि ९३२, सर्लाहीका लागि ३२, रौतहटका लागि ११९, बाराका लागि ११ र पर्साका लागि १ हजार १७२ वटा लाइसेन्स वितरणका लागि पठाइएको छ।

सातवटै प्रदेशमध्ये पहिलोपटक मधेश प्रदेशले आफ्नै स्तरबाट स्मार्ट कार्ड छपाइ गरी वितरण सुरु गरेको भन्दै मन्त्री थापाले खुसी व्यक्त गरिन्।

मन्त्री थापाका अनुसार अब सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको केही दिनभित्रै स्मार्ट कार्ड सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था गरिएको छ। त्यसपछि सेवाग्राहीले लामो दूरी तय गरी यातायात कार्यालय धाउनुपर्ने अवस्था हटाउँदै आफ्नै पालिकाबाट लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ।

जनताको सुविधालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले लाइसेन्स वितरण प्रक्रियालाई सहज बनाउन पहल थालेको मन्त्री थापाको भनाइ छ। उनका अनुसार यस व्यवस्थाले घण्टौँ लाइनमा बसेर वर्षौँसम्म लाइसेन्सको प्रतीक्षा गर्नुपर्ने बाध्यता क्रमशः हट्नेछ।

मधेश प्रदेशमै लाइसेन्स छपाइ र वितरण सुरु भएपछि सेवाग्राहीले छिटो र सहज रूपमा सवारी अनुमतिपत्र पाउने अपेक्षा गरिएको छ।

 

Share This Article