अपहरण र जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका अंसारी कलैयाबाट पक्राउ

अमरज्योती
106 Views

आकाश प्रसाद साह, कलैया । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक युवकलाई प्रहरीले कलैयाबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले २०८२ माघ २४ गते गरेको फैसलाबाट अंसारीलाई १८ वर्ष कैद सजाय सुनाइएको थियो। फैसलामा उनलाई ६ लाख रुपैयाँ जरिवाना तथा अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नुपर्ने उल्लेख थियो।
फैसला कार्यान्वयन नगरी फरार रहेका अंसारीको खोजीका क्रममा प्रहरीले विशेष सूचना प्राप्त गरेपछि टोली परिचालन गरेको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनलाई कलैया उपमहानगरपालिका–६ स्थित कलैया बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अंसारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालत, कलैयामा पेश गरिएको थियो। अदालतको २०८३ असोज ७ गतेको पत्रादेश (चलानी नं. ४८५०) अनुसार उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी विवरण जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।

Share This Article