नेपाल प्रेस युनियन बारा शाखाको ८औँ जिल्ला अधिवेशन भदौ २० गते

अमरज्योती
51 Views

बारा । नेपाल प्रेस युनियन बारा शाखाको ८औँ जिल्ला अधिवेशन आगामी भदौ २० गते शनिबार हुने भएको छ। अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन शाखाले तयारीसमेत तीव्र बनाएको छ।

शनिबार प्रेस युनियन बारा शाखाको सभाहलमा बसेको जिल्ला कार्यसमिति तथा सदस्यहरूको बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले जिल्ला अध्यक्ष श्यामबाबु प्रसाद यादवको संयोजकत्वमा जिल्ला कार्यसमितिलाई नै मूल आयोजक समिति बनाउने निर्णय गरेको छ।

अधिवेशन सफल बनाउन बैठकले विभिन्न ६ वटा समिति गठन गरेको सचिव राजेश कुशवाहाले जानकारी दिए।

निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन राकेश पाण्डेयको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिमा अधिवक्ता परमहंस केशरी र सन्तोष पाण्डे सदस्य रहेका छन्।त्यस्तै, अधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि सन्दिप प्रसाद यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा नुर आलम बादसाह र बिनिता चौधरी सदस्य छन्।

आर्थिक व्यवस्थापनको जिम्मेवारी अनिल कुमार साहको संयोजकत्वमा गठित सात सदस्यीय समितिलाई दिइएको छ। समितिका सदस्यमा धीरेन्द्र पनुहर, प्रभु प्रसाद यादव, संजीव कुमार मिश्र, श्रीकान्त गुप्ता, अरुण कुमार साह र पवन सिंह रहेका छन्।

यसैगरी, संगठनिक प्रतिवेदन तयार गर्न राजेश कुशवाहाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा अरुण साह र रविन्द्र प्रसाद साह सदस्य रहेका छन्।

बैठकले ‘विनोद प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार’ तथा ‘स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार’का लागि उत्कृष्ट व्यक्तित्व छनोट गर्न निवेश कुमार तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सन्तोष पाण्डे र अरुण कुमार साह सदस्य छन्।

बैठकले बारा जिल्लामा नेपाल प्रेस युनियनको सदस्यता नवीकरणसम्बन्धी विषयमा समेत आवश्यक निर्णय गरेको सचिव कुशवाहाले बताए।

जिल्ला अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य गणेश रिजाल, मधेस प्रदेश सचिव सन्तोष पाण्डेसहित भोजराज भट्टराई, राकेश पाण्डे, धीरेन्द्र पनुहर, जितेन्द्र चौधरी, जयनारायण यादव, निवेश तिमिल्सिना, संजीव मिश्रलगायत जिल्ला कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

अधिवेशनले नेपाल प्रेस युनियन बारा शाखाको आगामी नेतृत्वसँगै संगठनलाई थप व्यवस्थित र पत्रकारका हकहितका विषयमा प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Share This Article