जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान घरअगाडि काम गरिरहेका बेला सर्पले डसेपछि उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएकी स्थानीय ४२ वर्षीया मञ्जु बञ्जाराको उपचारका क्रममा मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार बिहान करिब ५ बजे घरअगाडि काम गरिरहेको अवस्थामा बञ्जारालाई सर्पले डसेको थियो। सर्पले डसेपछि अवस्था गम्भीर बनेकी उनलाई परिवार तथा स्थानीयको सहयोगमा तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
सर्पदंशपछि समयमै उपचारका लागि अस्पताल पुर्याइए पनि उनको ज्यान जोगाउन नसकिएको हो। घटनापछि स्थानीय क्षेत्रमा त्रासको अवस्था देखिएको छ।
विशेषगरी गर्मी तथा वर्षायाममा घरआँगन, खेतबारी, झाडी तथा आसपासका क्षेत्रमा सर्पको गतिविधि बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सक तथा सुरक्षाकर्मीले बताउँदै आएका छन्। सर्पले डसेमा घरेलु उपचार वा झारफुकमा समय नखर्ची तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ।
जीतपुरसिमरामा सर्पदंशबाट ४२ वर्षीया महिलाको मृत्यु
