भन्सार छली नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

अमरज्योती
71 Views

आकाश प्रसाद साह,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका ती इलेक्ट्रिक स्कुटरहरू प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले नियन्त्रणमा लिएका स्कुटरहरूको अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको जनाएको छ। ती स्कुटरहरू भारतीय नम्बर प्लेट तथा कागजातबिनाको अवस्थामा फेला परेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका सवारीसाधनमाथि निगरानी बढाउने क्रममा ती स्कुटरहरू नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका स्कुटरहरू आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।पछिल्लो समय सीमावर्ती क्षेत्रमा भन्सार छली गरी विभिन्न प्रकारका सवारीसाधन तथा सामान नेपाल भित्र्याउने गतिविधि बढेकाले प्रहरीले सीमा क्षेत्र तथा वीरगञ्जका विभिन्न स्थानमा निगरानी र जाँचलाई कडाइ गर्दै आएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा नियन्त्रणमा लिइएका १० वटा इलेक्ट्रिक स्कुटर सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।प्रहरीले अवैध रूपमा भन्सार छली गरी सामान तथा सवारीसाधन नेपाल भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कानुनअनुसार कारबाही गरिने जनाएको छ।

Share This Article