कलैया ।बाराको महागढीमाई नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जना किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार बिहान करिब ११ः३० बजे महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ निवासी १७ वर्षीय धिरज यादवको मृत्यु भएको हो।
प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 19 G 9921 को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक यादवको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा बिहान ११ः५५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कलैया उपमहानगरपालिका–२१, भोडहा निवासी १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका छन्। साहको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने यादवको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको एलएस न्युरो अस्पताल, परवानीपुरमा उपचार भइरहेको छ। साहको अवस्था मध्यम र यादवको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि प्रहरीले स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी करिब ३८ वर्षीय अरुण कुमार दुबेलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरीले जनाएको छ।









टिप्पणी (0)