ट्राफिक प्रहरीलाई सडक सुरक्षा र सचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण

अमरज्योती
106 Views

बारा । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले मातहतका ट्राफिक प्रहरी कर्मचारीका लागि ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

निजगढस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका विषयमा प्रहरी कर्मचारीलाई आवश्यक जानकारी तथा निर्देशन दिएका थिए।

भट्टराईले ट्राफिक नियम कार्यान्वयन गराउने क्रममा प्रहरीको जिम्मेवारी, कार्यालयबाट जारी नीति तथा निर्देशन, दुर्घटना न्यूनीकरणका उपाय तथा चालक, यात्रु र अन्य सडक प्रयोगकर्तालाई सचेत गराउने प्रभावकारी तरिकाबारे जानकारी गराएका थिए। ट्राफिक प्रहरीको काम नियम उल्लंघन गर्नेलाई कारबाही गर्नुमा मात्र सीमित नभई सडक दुर्घटना रोकथाम र नागरिकमा ट्राफिक सचेतना फैलाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए।

कार्यक्रममा TVRS सम्बन्धी अनुशिक्षण समेत प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक भट्टराईले जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम पालना तथा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए। दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सक्रियतासँगै चालक, यात्रु, पैदलयात्रीलगायत सबै सडक प्रयोगकर्ताले जिम्मेवार व्यवहार अपनाउनुपर्नेमा उनले जोड दिए।

सवारी साधनको चाप बढ्दै जाँदा सडक दुर्घटनाको जोखिम पनि बढिरहेको अवस्थामा नियमित अभिमुखीकरणले ट्राफिक प्रहरीको कार्यक्षमता र जिम्मेवारीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने सहभागी प्रहरी कर्मचारीहरूको भनाइ थियो।

Share This Article