चितवन । चितवनको राप्ती नगरपालिका–१ स्थित एक बस्तीमा पसेर स्थानीयवासीमा त्रास फैलाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। बाघले बस्तीमै प्रवेश गरी स्थानीयको गाईलाई आक्रमण गरेपछि स्थानीयवासी त्रसित बनेका थिए।
आइतबार बिहान करिब साढे ६ बजे अचानक बस्तीमा बाघ देखिएपछि स्थानीयवासीमा भागदौड मच्चिएको थियो। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। त्यस्तै, दिला कुमारी तामाङको एउटा गाईसमेत बाघको आक्रमणमा परी सामान्य घाइते भएको जनाइएको छ।
बाघको आक्रमणबाट घाइते अधिकारीलाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको थियो। उनको अवस्था सामान्य रहेको बताइएको छ।बस्तीमा बाघ पसेको खबर प्राप्त भएपछि स्थानीय प्रशासन तथा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई तत्काल जानकारी गराइएको थियो। सूचना पाएलगत्तै निकुञ्जबाट हात्तीसहित प्राविधिक तथा सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो।
बाघलाई नियन्त्रणमा लिन टोलीले लामो समयसम्म प्रयास गरेको थियो। करिब चार घण्टाको प्रयासपछि बिहान साढे १० बजेतिर बाघलाई डार्ट गरी बेहोस पारेर नियन्त्रणमा लिन सफल भएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ।बाघ नियन्त्रणमा आएपछि लामो समयदेखि डर र त्रासमा रहेका स्थानीयवासीले राहत महसुस गरेका छन्। बस्तीमै बाघ पसेपछि स्थानीयमा थप क्षति हुने त्रास बढेको थियो। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।घटनापछि बस्ती आसपासमा थप सावधानी अपनाइएको छ भने वन्यजन्तु बस्तीमा प्रवेश गर्ने अवस्था दोहोरिन नदिन सम्बन्धित निकायले निगरानी बढाएको जनाएको छ।
