जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण प्रक्रिया अघि बढाउँदै तीन वटा वडाका १ हजार ६ सय ४९ परिवारको विवरण स्वीकृत गरेको छ।
उपमहानगरपालिकाको ७०औँ कार्यपालिका बैठकले वडा नम्बर १, २ र २१ मा पहिचान भएका परिवारहरूको विवरण स्वीकृत गरेको हो।
शुक्रबार बसेको कार्यपालिका बैठकबाट स्वीकृत विवरणअनुसार २४ परिवार भूमिहीन दलित, २ सय ४८ परिवार भूमिहीन सुकुम्बासी र १ हजार ३ सय ७७ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। सम्बन्धित परिवारको पहिचान तथा प्रमाणीकरण ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार तथा मापदण्ड, २०८३’ बमोजिम गरिएको उपमहानगरपालिकाले जनाएको छ।स्वीकृत सूचीअनुसार वडा नम्बर १ मा ६ भूमिहीन दलित र १ सय १६ भूमिहीन सुकुम्बासी गरी १ सय २२ परिवार रहेका छन्। उक्त वडामा अव्यवस्थित बसोबासीको विवरण भने स्वीकृत सूचीमा समावेश छैन।वडा नम्बर २ मा सबैभन्दा धेरै ८ सय ९३ परिवारको विवरण प्रमाणीकरण भएको छ। तीमध्ये १७ भूमिहीन दलित, १ सय ६ भूमिहीन सुकुम्बासी र ७ सय ७० अव्यवस्थित बसोबासी रहेका छन्।
त्यसैगरी वडा नम्बर २१ मा १ भूमिहीन दलित, २६ भूमिहीन सुकुम्बासी र ६ सय ८ अव्यवस्थित बसोबासी गरी ६ सय ३५ परिवारको विवरण स्वीकृत भएको छ।कार्यपालिकाबाट स्वीकृत सूची अब आवश्यक प्रक्रिया पूरा गरी भूमि समस्या समाधान समिति, बारामा पठाइने भएको छ। स्थानीय तहबाट पहिचान र प्रमाणीकरणको चरण पूरा भएसँगै सम्बन्धित परिवारको जग्गा व्यवस्थापन तथा स्वामित्वसम्बन्धी प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ।भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरणलाई जग्गा व्यवस्थापन प्रक्रियाको महत्वपूर्ण आधारका रूपमा लिइएको छ। आवश्यक कानुनी तथा प्रक्रियागत काम पूरा भएपछि लाभग्राही परिवारको जग्गा व्यवस्थापन र स्वामित्व प्राप्तिको प्रक्रिया अघि बढ्ने उपमहानगरपालिकाले जनाएको छ।
