आकाश प्रसाद साह, पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुगेपछि गाँजा कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सामा दुई राउन्ड हवाई फायर गर्दै ३३ किलो गाँजासहित तीन जना पक्राउ
