बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका कार्यसमितिको नयाँ नेतृत्व गुट–उपगुटको प्रतिस्पर्धाभन्दा माथि उठेर आपसी सहमति र एकताका आधारमा चयन गरिएको छ।विभिन्न समूहबीचको प्रतिस्पर्धालाई निरन्तरता नदिई सबै पक्षलाई समेटेर सहमति र समझदारीका आधारमा अधिवेशनको कार्यक्रम सम्पन्न गरिएको हो। नेतृत्व चयनका क्रममा कांग्रेसका नेता तथा कार्यकर्ताबीच छलफल र समन्वय गर्दै साझा सहमति निर्माण गरिएको बताइएको छ।
सहमतिको वातावरण बनेपछि रमेशप्रसाद पण्डित नगर सभापतिमा चयन भएका छन्। त्यस्तै ज्ञानी पासवान देवी र उदयबहादुर श्रेष्ठ उपसभापति, विनोद अधिकारी सचिव तथा दिपक दाहाल सहसचिवमा चयन भएका छन्। नगर कार्यसमितिका अन्य पद तथा सदस्यहरूमा समेत सहमतिका आधारमा जिम्मेवारी बाँडफाँट गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै संविधानसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य मधु शाही ठकुरी विशेष अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता कृष्णव्रत सिंह लगायत जितपुरसिमरा उपमहानगरपालिकाका सम्पूर्ण वडाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा युवा नेताहरू मेघा शाही र नवराज त्रिपाठीले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन नगर सचिव यज्ञ तिवारीले गरेका थिए।
अधिवेशनका क्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीभित्रको गुटगत विभाजनलाई भन्दा एकता, सहकार्य र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। स्थानीय तहमा संगठनलाई थप बलियो बनाउन सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।जितपुरसिमरामा सहमतिमै नेतृत्व चयन हुनु कांग्रेसभित्र आन्तरिक एकता र सहकार्यको सन्देशका रूपमा देखिएको छ। नयाँ कार्यसमितिले सबै पक्षलाई समेट्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि अतिशमान श्रेष्ठले बताएका छन्।

