बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा दुई जना पक्राउ

अमरज्योती
58 Views

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेका हुन्।

जीतपुरसिमरा–१ दसधुरा निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गतेदेखि बेपत्ता थिइन्। खोजीका क्रममा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटना गम्भीर भएपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको टोली अनुसन्धानमा परिचालन भएको थियो। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट जीतपुरसिमरा–२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले चकलेटको प्रलोभन देखाएर बालिकालाई फकाई लगेको र त्यसपछि जबरजस्ती करणी गरी हत्या गरेको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिक सहचालक सुमन थापासँगै ना.१ ज ७७५८ नम्बरको म्याजिकका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवरले जानकारी दिएका छन्।

 

Share This Article