वीरगञ्ज। वीरगञ्जमा आयोजित दशैं मेलामा सहभागी युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाराका एक भन्सार एजेन्टलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी ज्योतीलाल कलवारका करिब ४५ वर्षीय छोरा अखिलेश कुमार साह रहेका छन्। प्राप्त विवरणअनुसार, आइतबार राति मादक पदार्थ सेवन गरी दशैं मेला हेर्न पुगेका साहमाथि मेलामा उपस्थित युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले साहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको जनाइएको छ। पीडित पक्षसँग समन्वय गर्दै घटनासम्बन्धी मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको बताइएको छ।
साह वीरगञ्ज भन्सार कार्यालयमा माछा तथा तरकारीको भन्सार पास गराउने एजेन्टका रूपमा काम गर्दै आएको जनाइएको छ। उनीमाथि प्रहरीलाई पत्रकारको परिचयपत्र देखाएर धाकधम्की दिने गरेको आरोपसमेत लागेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। आरोप पुष्टि हुन बाँकी छ।










टिप्पणी (0)