बारा ।सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका विभिन्न इकाइले सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब ७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेका छन्। सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म पिपरपाती, बोर्डर आउट पोस्ट (बीओपी) बरैनिया तथा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएका टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा कस्मेटिक सामग्री, मदिरा, किराना तथा हार्डवेयरका सामान बरामद गरेका हुन्। सोही क्रममा तस्करीमा प्रयोग गरिएको आशंकामा केही मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जनाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रममणि अधिकारीका अनुसार बरामद गरिएका सामानको कुल मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको डीएसपी अधिकारीले जानकारी दिए। सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ। यस्ता गतिविधि नियन्त्रणमार्फत राज्यको राजस्व संरक्षण गर्ने तथा सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।











टिप्पणी (0)