बाराको निजगढमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। निजगढ नगरपालिका–११ बम्जन टोलस्थित तपस्या स्थलको भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
प्राप्त विवरणअनुसार कात्तिक ३० गते साँझ करिब ५ः२० बजे रतनपुरबाट कोल्हवीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा कोल्हवी नगरपालिका–७ दोधर्पाका २३ वर्षीय चालक जंगी सहनी र मोटरसाइकलको पछाडि सवार २४ वर्षीय राहुल सहनी घाइते भएका थिए।
दुर्घटनामा चालक जंगीको हात र खुट्टामा सामान्य चोट लागेको थियो भने पछाडि सवार राहुलको छातीमा चोट लागेको थियो। दुवै जनालाई सुरुमा निजगढस्थित सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो। अवस्था थप उपचार गर्नुपर्ने भएपछि उनीहरूलाई वीरगञ्जस्थित एलएस न्युरो अस्पताल रेफर गरिएको थियो।
तर, थप उपचारका लागि लैजाने क्रममा राहुललाई पर्सास्थित गण्डक अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारकै क्रममा साँझ करिब ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक जंगी सहनीलाई सोही राति करिब १०ः२० बजे नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ। दुर्घटनामा प्रयोग भएको मोटरसाइकल तथा आवश्यक कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मृतक राहुल सहनीको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।













टिप्पणी (0)