बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिर नजिक विवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक २६ गते बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेकी स्थानीय २ वर्षीया बालिका अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो।
मोटरसाइकल करिब १५ वर्षीय बालकले चलाएको प्रारम्भिक विवरणमा उल्लेख छ। ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरी घर पठाइएको प्रहरीले जनाएको छ।
बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर विवाद भएपछि स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर पहलाद साह लहेराका छोरा १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक विवरण छ।
चक्कु प्रहारबाट सुरजको ढाडमा चोट लागेको छ। घाइते उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र उपचारमा आफन्त संलग्न रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा समेत टोली खटिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा भीम लहेरा र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान गरिरहेको जनाएको छ।














टिप्पणी (0)