बारा । चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका–६ घर भई हाल कलैया उपमहानगरपालिका–२३ मा बस्दै आएका कुशवाहालाई बुधबार कलैयाबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको २०८३ कात्तिक १३ गतेको आदेशअनुसार उनलाई पक्राउ गरिएको हो। कलैया उपमहानगरपालिका–२३ निवासी जगदम्बा ट्रेड कन्सर्नका प्रोप्राइटर अनिलकुमार पटेलले कुशवाहाविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा वादीको बिगो दाखिला गराउन कुशवाहालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन अदालतले प्रहरीलाई पत्राचार गरेको थियो। अदालतको आदेश तथा पत्रका आधारमा पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने डीएसपी घलेले जानकारी दिएका छन्।














टिप्पणी (0)