नेपाली कांग्रेसका सभापति गगन थापाको उपस्थितिमा बारा निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दल तथा समूहमा आबद्ध ३८५ भन्दा बढी नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेस क्षेत्रीय समिति बारा–४ द्वारा आयोजित कार्यक्रममा पूर्ववडाध्यक्ष रामबाबु पटेल र सरोज पटेलसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा आबद्ध भएका हुन्। पार्टी सभापति थापाले नवप्रवेशीहरूलाई टीका लगाउँदै खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। बारा–४ का सामाजिक व्यक्तित्व घनश्याम गिरीको नेतृत्व तथा स्थानीय नेताहरूको पहलमा ठूलो संख्यामा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको आयोजकले जनाएको छ।
नवप्रवेशीहरूले गगन थापाको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई थप सशक्त, संगठित र जनतासँग जोडिएको बनाउन आफूहरू कांग्रेसमा आबद्ध भएको बताएका छन्।
बारा क्षेत्र नम्बर–४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह चयन भएपछि अन्य राजनीतिक दलबाट नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको क्षेत्रीय समितिले जनाएको छ। क्षेत्रीय सभापति सिंहले पार्टीप्रतिको आकर्षण बढाउन जनमैत्री गतिविधि र संगठन विस्तारका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।
क्षेत्रीय सभापति लोकेश सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कांग्रेस नेता फरमुल्लाह मन्सूर, केन्द्रीय सदस्यहरू डा. शोभाकर पराजुली, ममता शर्मा, मेघा शाही, संविधानसभा सदस्य मधु शाही ठकुरी, जिल्ला सभापति मनोज भट्ट, कांग्रेस नेता विजयशंकर यादव, बारा क्षेत्र नम्बर–२ का सभापति उपेन्द्रप्रसाद यादव तथा क्षेत्र नम्बर–३ का सभापति प्रभात चौरसियालगायतको उपस्थिति थियो।
त्यस्तै कांग्रेस नेतृ शोभा लामा, प्रियंका दास, महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका नेता–कार्यकर्ताहरू पनि कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा नगर सभापति रमेश पण्डितले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन केन्द्रीय सदस्य मेघा शाहीले गरेकी थिइन्।














टिप्पणी (0)