बारा । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसा, लैङ्गिक हिंसा तथा सामाजिक अपराध न्यूनीकरण गर्ने उद्देश्यले बारामा तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको छ। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले मंगलबारदेखि अभियान सञ्चालन गरेको हो।
‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाज निर्माण गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियान मंसिर १, २ र ३ गतेसम्म सञ्चालन हुनेछ। जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट निकालिएको सचेतनामूलक र्यालीले नगर परिक्रमा गरेपछि प्रशासन कार्यालयको सभाहलमा आयोजित औपचारिक कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा महिला अधिकारकर्मी निभा सिंहले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि कानुनी व्यवस्था र सामाजिक चेतना दुवै आवश्यक रहेको बताइन्। नेपालको संविधानले महिला अधिकार तथा अपराधमा संलग्नलाई सजाय दिने विषयमा पर्याप्त व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो। उनले बालबालिकालाई कम उमेरमा विवाह नगर्न आग्रह गर्दै सचेत र सजग रहनसमेत अपिल गरिन्।
त्यसैगरी कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साहले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका घटनामा कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। हिंसाका घटनामा कानुनी प्रक्रिया प्रभावकारी बनाएर पीडितलाई न्याय दिलाउनुपर्ने उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले सुरक्षित समाज निर्माणका लागि मधेस प्रदेशका आठवटै जिल्लामा महिला हिंसा, बाल हिंसा तथा यौनजन्य हिंसा रोकथामका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
समाजमा अपराधका घटना किन बढिरहेका छन् र सामाजिक संरचना अझै सुरक्षित बन्न नसक्नुको कारण के हो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। अन्तर्राष्ट्रिय सन्धि–सम्झौता, नेपालको संविधान तथा मुलुकी अपराध संहिता, २०७४ लगायतका कानुनी व्यवस्थाले महिला, बालबालिका र लैङ्गिक समानताका विषयलाई सम्बोधन गरे पनि व्यवहारमा हिंसा तथा अपराधका घटना बढिरहनु चिन्ताजनक भएको उनले बताए।
शिक्षा र चेतनाको कमी, गरिबी तथा अशिक्षाका कारण अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै अधिकारीले कानुन निर्माण गरेर मात्र नहुने, त्यसको प्रभावकारी कार्यान्वयनसमेत हुनुपर्नेमा जोड दिए।
उनले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथाम, बालअधिकार संरक्षण र सामाजिक अपराध नियन्त्रणका लागि अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने बताए। अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै राजनीतिक, सामाजिक वा प्रशासनिक तहबाट अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
‘अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ। यसका लागि सबै तह र तप्काका व्यक्ति एकजुट हुन आवश्यक छ,’ अधिकारीले भने।
सचेतनामूलक कार्यक्रमलाई तीन दिनमा मात्र सीमित नराखी सबै सरोकारवालासँग समन्वय गरेर निरन्तर अभियानका रूपमा सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए। सुरक्षित समाज निर्माणका लागि राजनीतिक दल, प्रशासन, प्रहरी, सामाजिक संघसंस्था र आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए।
यसैगरी बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले अभियानको मुख्य उद्देश्य महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाको प्रभावकारी रोकथाम, अनुसन्धान र न्यूनीकरण गर्नुका साथै कानुनी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नु रहेको बताए।
यौनजन्य हिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या नभई समग्र समाजको सुरक्षा, मानवीय मर्यादा र सामाजिक न्यायसँग जोडिएको गम्भीर विषय भएको उनले उल्लेख गरे। महिला तथा बालबालिकाको सम्मान, सुरक्षा, स्वतन्त्रता र अधिकार सुनिश्चित गर्नु राज्य, प्रहरी, स्थानीय तह, परिवार तथा समुदाय सबैको साझा दायित्व रहेको उनको भनाइ थियो।
अभियानमार्फत हिंसाका घटना हुन नदिन समयमै सचेतना फैलाउने, पीडितलाई न्यायको पहुँचमा पुर्याउने, उजुरी तथा कानुनी प्रक्रियाबारे जानकारी दिने र आवश्यक संरक्षण उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइने एसपी कुँवरले बताए। अभियानलाई प्रभावकारी बनाउन सरकारी वकिल, अदालत, प्रहरी तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरिने उनले जानकारी दिए।
बारामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल रहेको उल्लेख गर्दै एसपी कुँवरले पीडितलाई आवश्यक परेमा केही दिनका लागि अस्थायी आवास, भोजन तथा उपचारको व्यवस्था गर्न सकिने बताए। स्थानीय तहमा रहेका लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा लैङ्गिक हिंसा नियन्त्रण कोषसमेत परिचालन गरिने र त्यसको समन्वय जिल्ला प्रहरी कार्यालय बाराले गर्ने उनले जानकारी दिए।
त्यस्तै, यस्ता घटनाको अनुसन्धानलाई प्रभावकारी, संवेदनशील तथा पीडितमैत्री बनाउँदै अपराध रोकथाममा प्रहरी र समुदायबीचको सहकार्य थप मजबुत बनाउने लक्ष्य रहेको उनले बताए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवश कुँवरले बारामा यौनजन्य तथा महिला हिंसासम्बन्धी मुद्दाको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरेका थिए। उनका अनुसार विगत सात वर्षको अभिलेख हेर्दा जिल्लामा यस्ता मुद्दा दर्ता हुने संख्या दोब्बर भएको पाइएको छ।
बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०८२/०८३ मा महिला हिंसासम्बन्धी सबैभन्दा बढी ३०० भन्दा बढी मुद्दा कलैया उपमहानगरपालिकामा दर्ता भएका छन्। सबैभन्दा कम भने विश्रामपुर गाउँपालिकामा आठवटा मुद्दा दर्ता भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो।
कार्यक्रममा श्री रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, महिला अधिकारकर्मी, विद्यार्थी, युवा, जेनजी एण्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवश कुँवरले गरेका थिए।













टिप्पणी (0)