बारा । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा विद्युत्को तार सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा अन्य दुई घरमा समेत आंशिक क्षति पुगेको छ। घटनामा तीनवटा बाख्रा मरेका छन् भने मानवीय क्षति भने भएको छैन।
मंगलबार बिहान करिब ३:३० बजे स्थानीय रतन महरा चमारको घरबाट आगलागी सुरु भएको थियो। आगो लागेको खबर पाएपछि प्रहरी चौकी मटिअर्वामा बिहान ३:४० बजे जानकारी गराइएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश कुमार साहको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेको नेतृत्वमा थप २५ जना प्रहरी परिचालन गरिएको थियो।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासपछि बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आगलागीबाट सबैभन्दा बढी क्षति रतन महरा चमारको घरमा भएको छ। काठ र माटोले बनेको खरको छानो भएको उनको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, साइकल, फर्निचर, गरगहना तथा तीनवटा बाख्रा पनि आगोमा परेका छन्। प्रहरीका अनुसार उनको करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, स्थानीय धुरेन्द्र महराको घरको छानो आंशिक रूपमा जल्दा करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हरिन्द्र रामको घरको छानोमा समेत आगलागीबाट क्षति पुगेको छ। उनको करिब १५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट तीनवटै घरमा गरी करिब १० लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट ठूलो भौतिक क्षति भए पनि समयमै प्रहरी, दमकल र स्थानीय बासिन्दा परिचालन हुँदा थप घरमा आगो फैलिनबाट रोकिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।













टिप्पणी (0)