नेपाली कांग्रेसको नयाँ नेतृत्वले निर्वाचन आयोगबाट औपचारिक अभिलेख अद्यावधिक गराएको छ। आयोगले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरिएको जानकारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
नयाँ नेतृत्वको विवरण आयोगमा अद्यावधिक गराउन कांग्रेस महामन्त्री प्रदीप पौडेलले गत कात्तिक १६ गते निवेदन दिएका थिए। निवेदनसँगै निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू पनि आयोगमा बुझाइएको थियो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीका पदाधिकारी तथा कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कांग्रेसले नयाँ नेतृत्वको विवरण अद्यावधिकका लागि प्रक्रिया अघि बढाएको थियो।
यसअघि आयोगले कांग्रेसले पेस गरेका कागजात तथा संशोधित विधान अध्ययन गर्नुपर्ने भन्दै विवरण अद्यावधिक गर्न समय लगाएको थियो। त्यसक्रममा कार्यसमितिमा महिला प्रतिनिधित्वलगायत कानुनी प्रावधान पूरा भएको विषयमा समेत आवश्यक विवरण मागिएको थियो।
कांग्रेसको नयाँ नेतृत्वसम्बन्धी विवरण अद्यावधिक भएसँगै पार्टीको आन्तरिक राजनीतिक विवादका बीच अर्को महत्वपूर्ण प्रशासनिक प्रक्रिया पूरा भएको छ।
यद्यपि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पार्टीभित्रको राजनीतिक परिस्थिति भने अझै पूर्ण रूपमा टुंगिएको छैन। शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ।













टिप्पणी (0)